एएफसी कप : पहिलो खेलमै मनाङ ढाकासँग स्तब्ध

काठमाडौं (खेलदैनिक) । ऐतिहासिक रुपमा पहिलोपटक प्रतिष्ठित एएफसी कपको समूह चरणमा भिडेको नेपाल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आफ्नो पहिलो खेलमै हार बेहोरेको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समूह ई तर्फको आफ्नो पहिलो खेलमा मनाङले बंगलादेशको लिग च्याम्पियन ढाका अवाहानीसँग शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हार बेहोर्यो । ढाकाको जितमा पहिलो हाफ कै २८औं मिनटमा अफगानी डिफेन्डर मसिह सइघानीले गरेको एक मात्र हेड गोल खेलको निर्णायक बन्यो ।

बुधबार नै समूह ई तर्फको अर्को खेलतर्फ भारतको अहमदाबादमा सम्पन्न खेलमा आइ लिग च्याम्पियन मिनर्वा पञ्जाब र चेन्नईनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबारको नतिजा ३ अँक जोडेको ढाका अंकतालिकाको शिर्ष स्थानमा छ । त्यस्तै समान १–१ जोडेका मिनर्वा पञ्जाब र चेन्नईन दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन मनाङ पुछारमा छ ।

समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा मनाङले इण्डियन सुपर लिग क्लब चेन्नईनसँग १७ अप्रिलका दिन अहमदाबादमा खेल्नेछ भने सोही दिन मिनर्वा पञ्जाबले ढाका अवाहानीसँग बंगलादेशको राजधानी ढाकामा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...