दुहबी गोल्डकप : भारतीय क्लबलाई हराउँदै दाफिन्स सेमिफाइनलमा

दुहबी (खेलदैनिक) । दाफिन्स एफसी, क्यामरुन जारी तेस्रो मनमोहन दुहबी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दुहबी रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा दाफिन्सले रोयल क्लब, इष्ट बंगाल (भारत) लाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

दाफिन्सको जितमा खेल शुरु भएको चौथो मिनटमै यानिक ओवनाले पहिलो गोल गरे । यद्यपि २६औं मिनटमा बेनिटोले रोयल क्लबका लागि बराबरी गोल फर्काए । पहिलो हाफसम्म आफ्नो दबदबा बनाएको दाफिन्सका लागि ३६औं मिनटमा मेसोकीले दोस्रो गोल गरे ।

त्यस्तै दोस्रो हाफको ५८औं मिनटमा कोनोले गोल गर्दै दाफिन्सको अग्रता तेब्बर पारे । तर लगतै ६३औं मिनटमा क्रिसले रोयल क्लबका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि त्यो सफल भएन । दाफिन्सले अब सेमिफाइनलमा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ ।

खेलमा दाफिन्सका मेसोकी म्यान अफ द म्याच घोषित भए । मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...