रोमाञ्चक जितका साथ चाँदनी फाइनलमा

सैनामैना (खेलदैनिक) । प्रतिस्पर्धात्मक र रोमाञ्चक जितका साथ चाँदनी युवा क्लब जारी दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापार स्थित सरस्वती माविको खेलमैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा चाँदनीले विश्व शान्ती युवा क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

नियमित समयतर्फ चाँदनीका लागि टिकाराज गुरुङले गोल गरेका थिए भने विश्व शान्तीका लागि सबी गुरुङले गोल गरेका थिए । सोमबारको खेलका बिजयी टोली चाँदनीका टिकाराज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

अब उपाधिका लागि चाँदनीले चैत्र २० गते बुधबार फर्साटिकर युवा क्लबसँग फाइनल खेल्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

जनप्रिय स्र्पोटिङ युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,७७,७७७, रुपैया हात पार्नेछ भने उपविजेताले ८८,८८८ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...