सहज जितका साथ फर्साटिकर फाइनलमा

सैनामैना (खेलदैनिक) । सहज जित हात पार्दै फर्साटिकर युवा क्लब जारी दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापार स्थित सरस्वती माविको खेलमैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा फर्साटिकरले न्यु एभरेष्ट युवा क्लबलाई ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । फर्साटिकरको जितमा अजित गुरुङ, रन्जित आले, मुकेश कुँवर र बिसु थापाले गोल गरे । उता पराजित न्यु एभरेष्टका लागि बिबेक मल्लले एक मात्र सान्त्वना गोल गरे ।

खेलमा फर्साटिकरका रन्जित आले म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको दोस्रो सेमिफाइनल खेल चाँदनी युवा क्लब र विश्व शान्ति युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

जनप्रिय स्र्पोटिङ युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,७७,७७७, रुपैया हात पार्नेछ भने उपविजेताले ८८,८८८ रुपैया प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रानाले बताए । प्रतियोगिताको फाइनल खेल चैत्र २० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...