दुहबी गोल्डकप : पुलिसलाई स्तब्ध पार्दै काकरभिट्टा सेमिफाइनलमा

दुहबी (खेलदैनिक) । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर जारी तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा काकरभिट्टाले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

काकरभिट्टाको शानदार जितमा सबै गोल दोस्रो हाफमा भएका थिए । काकरभिट्टाका लागि पहिलो गोल ६१औं मिनटमा बिशाल राई ए ले गरे । त्यस्तै ८९औं मिनटमा तेज तामाङले आत्मघाती गोल गर्न पुग्दा काकरभिट्टाले आफ्नो अग्रता दोब्बर पारेको थियो । लगतै अफ्रिकी खेलाडी आर्मोडले ९० र ९४औं मिनटमा लगातार दुई गोल गर्दै काकरभिट्टाको शानदार जित पक्का गरेका थिए ।

खेलमा काकरभिट्टाका गोलरक्षक किशोर गिरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र आयोजक इलेभन एरोज क्लबबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...