दुहबी गोल्डकप शुरु, टेक बुढाथोकीको ह्याट्रिकमा आर्मीको शानदार शुरुवात

सुनसरी (खेलदैनिक) । शनिबारदेखि शुरु तेस्रो मनमोहन दुहबी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा दावेदार टोली त्रिभुवन आर्मी क्लबले शानदार शुरुवात गरेको छ ।

दुहबी रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले चर्च ब्वाईज युनाइटेडलाई ५–० को फराकिलो अन्तरले हराउँदै शानदार शुरुवात गरेको हो । आर्मीका लागि २२औं मिनटमा टेक बुढाथोकीले पहिलो गोल गरे । लगतै ३०औं मिनटमा फ्रिकिक मार्फत सन्तोष तामाङले आर्मीको त्यो अग्रता दोब्बर पारे ।

खेलमा एकतर्फी नतिजा हात पारेको आर्मीका लागि ५२औं मिनटमा टेक बुढाथोकीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने ८२औं मिनटमा चौथो गोल गर्दै व्यक्तिगत ह्याट्रिक समेत पूरा गरे । त्यस्तै थप एक गोल भने ८६औं मिनटमा भरत खवासले गरे ।

यो जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ । खेलमा ह्याट्रिक गरेका आर्मीका टेक बुढाथोकी खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल नेपाल पुलिस क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजकले जनाएको छ । इलेभन एरोज क्लब र मनमोहन मेमोरियल फाउण्डेशनको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...