
हेटौडा (खेलदैनिक) । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एवम् पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुर गोल्डकपमा सहभागी आयोजकको टिम मकवानपुर–११ का खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिने भएका छन् ।
फाइनल प्रवेशको लागि बुधबार मकवानपुरले नेपाल पुलिस क्लवसंग खेल्नु अघि हौसला प्रदान गर्दै बानियाँले फाइनल पुगे सबै खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । बुधबार मकवानपुरले पुलिसलाई १–० ले हराएर फाइनल प्रवेश गरेसंगै टिमका प्रत्येक सदस्यले जनही ५ हजार रुपैयाँ पाउने पक्का भएको छ ।
‘खेलाडीको हौसलाको लागि पुरस्कारको घोषणा गरेको हुँ । पुलिसलाई हराएर फाइनल प्रवेश गर्नु हामी मकवानपुरबासीको लागि खुसीको बिषय हो’, नेता बानियाँले भने, ‘मकवानपुर–११ का सबै खेलाडीलाई हौसला स्वरुप जनही ५ हजार प्रदान गर्नेछु ।’
उनले फाइनल जितेर उपाधि कब्जा गर्नका लागि खेलाडीहरुलाई हौसला प्रदान गरे । जारी मकवानपुर गोल्डकपमा बुधबार प्रमुख अतिथि रहेका बानियाँले खेल क्षेत्रको विकासका निम्ति सबै एक हुनु आवश्यक रहेकोमा जोड दिए ।