मकवानपुर गोल्डकप : रेजिनको निर्णायक गोलसँगै आयोजक फाइनलमा

हेटौडा (खेलदैनिक) । आयोजक मकवानपुर–११ जारी भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा मकवानपुरले नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

मकवानपुरको जितमा रेजिन सुब्बाले एक मात्र निर्णायक गोल गरे । साथै निर्णायक गोल गरेका सुब्बा खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल दुई दावेदार टोली दाफिन्स एफसी, क्यामरुन र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि चैत्र १६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...