उत्कृष्ट जितका साथ झरना फाइनलमा

रुपन्देही (खेलदैनिक) । उत्कृष्ट जितका साथ झरना स्पोर्टस् क्लब, कुञ्जलापुर जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा झरनाले देशभक्त युवा क्लबलाई ४–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । झरनाको जितमा काजिम, मन्दिप थापा, निशान सुनार र मोहन थापाले एक–एक गोल गरे ।

त्यस्तै खेलको दोस्रो हाफतर्फ विवाद गरेपछि झरनाका अफ्रिकी खेलाडी काजिम र देशभक्तका सुदान्स चौधरीलाई सोझै रातो कार्ड खाँदै छाड्नु परेको थियो । सोमबारको खेलमा पराजित देशभक्तका सुर्य थापा म्यान अफ द म्याच घोषित भए ।

अब उपाधिका लागि झरनाले चैत्र १३ गते बुधबार भैरव स्पोर्टस् क्लब, नवलपरासीसँग फाइनल खेल्नेछ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...