कुवेतलाई आज पनि बराबरीमा रोक्ने नेपालको योजना

काठमाडौं (खेलदैनिक) । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचतर्फ आज नेपाल र कुवेत फेरि आमने सामने हुँदैछन् । कुवेत सिटी स्थित अल–शबाब स्पोर्टस् कम्प्लेक्समा हुन गईरहेको आजको खेल पनि बराबरी खेल्ने योजनामा छ नेपाल ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग दबाबका बावजुद गोलरहित बराबरी खेलेको नेपालले आज पनि कुवेतलाई बराबरीमा रोक्न चाहन्छ । कुवेत विरुद्ध नेपालको त्यो पहिलो बराबरी नतिजा समेत थियो ।

उता नेपालका प्रशिक्षक योहान कालिनले पनि आजको खेलमा कुवेतलाई बराबरी मै रोक्ने योजना बनाएको बताएका छन् । साथै नेपाली टोलीका कप्तान बिराज महर्जनले पनि आज घरेलु टोलीलाई बराबरी मै रोक्ने लक्ष्य लिएको बताईसकेका छन् ।

नेपाल समय अनुसार ९:१५ बजे शुरु हुने आजको खेलमा कुवेतलाई नै जितको बलियो प्रत्याशी मानिएको छ । यद्यपि नेपालले आफू अनुकुल नतिजा ल्याउन कडा मेहनत गर्ने पनि निश्चित छ । कति होला त आजको नतिजा ? कुवेतलाई बराबरीमा रोक्न सफल होला त नेपाल ?


प्रतिक्रिया दिनुहोस

Loading...