एएफसी यु–२३ छनौट : लज्जाजनक हारसँगै सकियो नेपालको यात्रा

काठमाडौं (खेलदैनिक) । लगातार लज्जाजनक दोस्रो हार बेहोर्दै नेपाल जारी एएफसी यु–२३ च्याम्पियनसिप छनौटको समूह चरणबाटै बाहिरिएको छ । आइतबार दोहा स्पोर्टस् सिटीमा भएको समूह ए तर्फको दोस्रो खेलमा नेपालले घरेलु टोली कतारसँग ५–० को हार बेहोर्दै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो ।

खेलको शुरुवातबाटै रक्षात्मक खेलेको नेपालले २४औं मिनटमा पहिलो गोल खान पुगेको थियो । अनन्त तामाङले कतारका खेलाडीलाई बक्स भित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई अब्दुल्लाह अल–अहरकले बिना कुनै गल्ती गोलपोष्टको जाली चुमाएका थिए ।

त्यस्तै दोस्रो हाफको ५३औं मिनटमा कप्तान बसम अल–रवीले कतारका लागि दोसे गोल गरे भने ६०औं मिनटमा विपक्षीको प्रहार क्लियर गर्ने क्रममा नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गर्न पुगेका थिए । त्यसैगरी ७९औं मिनटमा कतारका कप्तान अल–रवीले उत्कृष्ट फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

खेलको अन्तिमसम्म दबाब कायम राखेको कतारका लागि इन्जुरी समयको ९२औं मिनटमा अल–अहरकले पाँचौं गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।

यो नतिजासँगै दुई खेलबाट समान ६–६ अंक जोडेको कतार र ओमान क्रमश पहिलो र दोसे स्थानमा छन् । त्यस्तै अंकविहीन अफगानिस्तान र नेपाल भने तेस्रो र चौथो स्थानमा छन् र प्रतियोगिताबाट बाहिरिएका छन् । छनौट तर्फ नेपालले आफ्नो अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ भने सोही दिन निर्णायक मानिएको खेलमा कतारले ओमानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...