आयोजकको चुनौति पन्छाउँदै भैरव फाइनलमा

रुपन्देही (खेलदैनिक) । भैरव स्पोर्टस् क्लब, नवलपरासी जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा आइतबार सम्पन्न प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा भैरवले आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई २–१ ले हरायो ।

भैरवको जितमा अनुप गुरुङले पेनाल्टीबाट पहिलो गोल गरे भने जगदिश थापाले दोस्रो गोल गरे । उता पराजित आयोजक नवयुवाका लागि असविन गुरुङले एक मात्र सान्त्वना गोल फर्काए । आइतबारको खेलमा भैरवका गोलरक्षक रोशन थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबारको दोस्रो सेमिफाइनल खेल झरना स्पोर्टस् क्लब, कुञ्जलापुर र देशभक्त युवा क्लब, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...