झापा गोल्डकपको टिकट बिक्रीबाट ४२ लाख आम्दानी

  • रमेश समदर्शी

बिर्तामोड (खेलदैनिक) । गत फागुन १८ देखि २७ गतेसम्म भएको मगमग झापा गोल्डकपमा टिकट बिक्रीबाट मात्र झण्डै ४२ लाख रुपैयाँ संकलन भएको छ ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजित गोल्डकपको चौथो संस्करणबाट ४१ लाख ७६ हजार आठ सय रुपैयाँ संकलन भएको हो । यो अवधिमा २१ हजार ११२ जनाले टिकट खरिद गरेर गोल्डकपको अवलोकन गरेको गोल्डकपको सचिवालयले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेलमा सर्वाधिक छ हजार ९३८ जनाले टिकट काटेका थिए । ३ सय दरको उक्त टिकटबाट आयोजकले २० लाख ८१ हजार चार सय रुपैयाँ संकलन गरेको थियो । यद्यपि यो रकम गतवर्षको फाइनल खेलभन्दा झण्डै २ लाखभन्दा कम हो । यसपटकको फाइनल भिडन्त झापा ११ र त्रिभुवन आर्मीबीच भएको थियो ।

त्यस्तै, सबैभन्दा कम रकम मोरङ र सशस्त्र प्रहरीबीच भएको खेलमा ५६ हजार चार सयमात्र रकम संकलन भएको थियो । जसमा पाँच सय जनाले टिकट काटेका थिए । समग्रमा झापा ११ को खेल हुँदा दर्शकको घुइँचो लाग्ने गरेको थियो ।

झापा ११ र सहारा क्लब पोखराबीचको उद्घाटन खेलमा २ लाख ६८ हजार छ सय, झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीचको खेलमा २ लाख ९० हजार २ सय, सशस्त्र र आर्मीबीचको खेलमा १ लाख २६ हजार चार सय रुपैयाँ संकलन भएको थियो ।

त्यस्तै, थ्री स्टार क्लब र नेपाल प्रहरीबीचको खेलमा १ लाख ५१ हजार, दाफिन्स एफसी र लाली रुपन्देही ११ बीचको खेलमा १ लाख १५ हजार छ सय रुपैयाँ संकलन भएको सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए ।

झापा ११ र थ्रीस्टार क्लबबीचको पहिलो सेमिफाइनल खेलमा सात लाख १५ हजार आठ सय र आर्मी र दाफिन्सबीचको अन्तिम सेमिफाइनल खेलमा तीन लाख ७१ हजार चार सय रुपैयाँ संकलन भएको थियो ।

आयोजकले प्रिक्वार्टर र क्वार्टरफाइनल खेलमा १ र २ सय दर, सेमिफाइनल खेलमा २ सय र फाइनल खेलमा ३ सय दरको टिकट बिक्री गरेको थियो ।

फाइनल विजेता त्रिभुवन आर्मीले उपाधिसहित पुरस्कारवापत मात्र १३ लाख ६३ हजार रुपैयाँ हात पार्यो । वैशाखभित्र गोल्डकपको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...