फुलबारीलाई स्तब्ध पार्दै देशभक्त सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । कडा प्रतिस्पर्धात्मक खेलमा जित हात पार्दै देशभक्त युवा क्लब, नवलपरासी जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा शनिबार भएको अन्तिम क्वाटरफाइनलमा देशभक्तले दावेदार मानिएको फुलबारी गाईजलाई १–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । देशभक्तको जितमा कृपा चौधरीले एक मात्र निर्णायक गोल गरे ।

शनिबारको खेलमा पराजित फुलबारीका कप्तान आशिष गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको पहिलो सेमिफाइनल खेल आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र भैरव स्पोर्टस् क्लब, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...