कुवेत विरुद्ध जितका साथ करियरको शुरुवात गर्न चाहन्छु : कालीन

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले कुवेत विरुद्ध जित हात पार्दै आफ्नो करियरको शुरुवात गर्ने बताएका छन् । करियर कै पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षकको भूमिकामा उत्रिन लागेका स्वीडीस प्रशिक्षक कालीनले कुवेत विरुद्ध बिहीबार भिड्नु अघि सो कुरा बताएका हुन् ।

नेपाली फुटबल टोली हाल कुवेतको नियन्त्रणामा दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्न कुवेत सिटीमा छ । नेपालले आफ्नो पहिलो खेल बिहीबार अल–शबाब स्र्पोट्स स्टेडियममा खेल्दैछ भने दोस्रो खेल २५ मार्चका दिन खेल्ने तय भएको छ ।

बुधबार आयोजित प्रि–म्याच कन्फिरेन्समा बोल्दै कालीनले भने, “यो हाम्रो लागी निकै महत्वपूर्ण सिरिज हो । नेपाली फुटबलले लामो यात्रा तय गर्नुछ । कुवेत त्यो यात्राको पहिलो खुड्किलो हो । हामी निश्चित जितका लागि खेल्नेछौं ।”

गत महिना मात्र दुई बर्षका लागि नेपालको राष्ट्रिय टोलीमा नियुक्त भएका कालीनले अगाडी भनेका छन्, “हामीले तयारीका लागि थोरै समय मात्र पायौं । मलाई विश्वास छ, हामीले कुवेत विरुद्ध राम्रो खेल्नेछौं । कुवेत हाम्रो लागि नौलो प्रतिद्वन्द्वी हो ।”

https://twitter.com/Goal_Nepal/status/1108362712277573632

फिफा वरियतामा कुवेत हाल १५८ औं स्थानमा रहेको छ भने नेपाल तीन स्थान तल १६१ औं स्थानमा रहेको छ । उता कुवेतका प्रशिक्षक रोमियो जोजाकले नेपाल विरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक जोजाकले भने, “कुवेती फुटबल फेरि आफ्नो लयमा फर्किदैछ । नेपाल विरुद्धको दुवै खेल हाम्रो लागि महत्वपूर्ण छन् । हामीले तयारीका लागि प्रर्याप्त समय पाएनौं । तर हामी जित हात पार्नेमा विश्वस्त छौं ।”

स्मरणीय छ, आन्तरिक विवाद र फिफाको हस्तक्षेपका कारण कुवेतको अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता शुन्य थियो । फिफाले सन् २०१७ को डिसेम्बरमा कुवेतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...