महिला साफ : डिफेन्डिङ च्याम्पियन भारत लगातार पाँचौंपटक फाइनलमा

बिराटनगर (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन भारत जारी साफ महिला च्याम्पियनसिपको लगातार पाँचौं पटक फाइनलमा प्रवेश गरेको छ । बुधबार बिराटनगर स्थित शहिद रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले गत संस्करणको उपविजेता बंगलादेशलाई ४–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

खेलको १८ औं मिनटमै बंगलादेशी गोलरक्षकको गल्तीको फाईदा उठाउँदै दलिमा चिब्बेरले भारतका लागि पहिलो गोल गरीन् । त्यस्तै पहिलो हाफ कै २२ र ३७औं मिनटमा इन्दुमती कथिरेशनले लगातार दुई गोल गर्दै भारतको अग्रता तेब्बर पारीन् । त्यसैगरी खेलको अन्तिमतिर ९३ औं मिनटमा मनिषाले चौथो गोल गर्दै भारतीय टोलीको फाइनल यात्रा सहज रुपमा सुनिश्चित गरीन् ।

https://twitter.com/Goal_Nepal/status/1108324309649506305

भारतको यो लगातार पाँचौं फाइनलमा हो र यसअघि चारपटकको फाइनलमा उसले उपाधि समेत जितेको थियो । भारतले अब फाइनलमा शुक्रबार घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले बुधबार नै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै उपाधि नजिक पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...