
बिराटनगर (खेलदैनिक) । शानदार जितका साथ नेपाली महिला फुटबल टोली चौथो पटक प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले हराउँदै उपाधि नजिक पुगेको हो । बिराटनगर स्थित शहिद रंगशालामा सम्पन्न खेलमा नेपालका लागि ४२ औं मिनटमा बक्स नजिकैबाट पुनम जर्घा मगरले पहिलो गोल गरीन् ।
खेलमा एकतर्फी नतिजा निकालेको नेपालका लागि ७३ औं मिनटमा अनिता बस्नेतले दोस्रो गोल गरीन् भने ८२ औं मिनटमा साबित्रा भण्डारीले त्यो अग्रता तेब्बर पारीन् । त्यस्तै ८६ औं मिनटमा रेखा पौडेलले नेपालका लागि चौथो गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरीन् । अन्तर्राष्ट्रिय फुटबलमा सिनियर टोलीका लागि रेखाको त्यो पहिलो गोल समेत थियो ।
नेपालले अब उपाधिका लागि बुधबार नै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल बिजेतासँग फाइनल खेल्नेछ । स्मरणीय छ, भारत गत संस्करणको विजेता हो भने बंगलादेश उपविजेता टोली हो । फाइनल खेल शुक्रबार हुनेछ ।