साँघुरो जितका साथ झरना सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । झिनो अन्तरको जितका साथ झरना स्पोर्टस् क्लब, कुञ्जलापुर जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा झरनाले नवलपरासी–११ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । झरनाको जितमा पहिलो हाफको ४२ औं मिनटमा मोहन थापाले एक मात्र निर्णायक गोल गरे ।

मंगलबारको खेलमा पराजित नवलपरासीका एलिस मगर म्यान अफ द म्याच घोषित भए । त्यसैगरी ६ र ७ गते होलीका कारण खेल नहुने समेत आयोजकले जनाएको छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल चैत्र ८ गते लिस्नु युवा क्लब, कोटिहवा र भैरव स्पोर्टस् क्लब, नवलपपरासी बीच हुनेछ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...