अजितको ह्याट्रिकसँगै फुलबारी क्वाटरफाइनलमा

रुपन्देही (खेलदैनिक) । सहज जितका साथ फुलबारी गाईज, बुटवल यहाँ जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा भएको खेलमा फुलबारीले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । फुलबारीको जितमा अजित गुरुङले ह्याट्रिक गरे भने थप एक गोल शरद क्षेत्रीले गरे ।

उता पराजित फर्साटिकरका लागि मन्साले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा फुलबारीका लागि ह्याट्रिक गरेका अजित गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको खेल आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र भूपू सैनिक जबई स्र्पोटिङ क्लब, बुटवल बीच हुने आयोजकले जनाएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...