नवौं नवयुवा कप शुरु, लिस्नुको बिजयी शुरुवात

रुपन्देही (खेलदैनिक) । शनिबारदेखि शुरु नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब, कोहिटवाले बिजयी शुरुवात गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा भएको उद्घाटन खेलमा लिस्नुले तमु प्येल्हु संघ, सिद्धार्थनगरलाई १–० ले हरायो । लिस्नुको जितमा मनिष गुरुङले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै लिस्नु क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच पराजित टोलीका सुमन गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको खेल फुलबारी गाईज, बुटवल र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने आयोजकले जनाएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...