माइ भ्याली गोल्डकप : दाफिन्स उपाधि नजिक

इलाम (खेलदैनिक) । अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुन जारी पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार इलाम स्थित टुँडिखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा दाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

दाफिन्सको जितमा खेलको १७ औं मिनटमा डिडेर टिनाले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफतर्फ ७१ औं मिनटमा आहन्दा इसाले दोस्रो गोल गर्दै अफ्रिकी टोलीको फाइनल यात्रा पक्का गरे ।

खेलको म्यान अफ द म्याच दाफिन्सका डिडेर टिना घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजकले जनाएको छ ।

माइ भ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...