माइ भ्याली गोल्डकप : आर्मीलाई हराउँदै काकरभिट्टा सेमिफाइनलमा

इलाम (खेलदैनिक) । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर जारी पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा काकरभिट्टाले त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

इलाम स्थित ठूलो टुंडिखेल मैदानमा भरत खवास, नवयुग श्रैष्ठ जस्ता केही मुख्य खेलाडी बिना उत्रिएको आर्मीका लागि ५७ औं मिनटमा जितेन्द्र कार्कीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यद्यपि खेलको अन्तिमतिर ८५ औं मिनटमा काकरभिट्टाका लागि बिकास राईले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा काकरभिट्टाका गोलरक्षक दिनेश थापा मगर म्यान अफ द म्याच घोषित भए । काकरभिट्टाले सेमिफाइनलमा अब आइतबार हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो सेमिफाइनल खेल दाफिन्स एफसी, क्यामरुन र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...