महिला साफ : माल्दिभ्स विरुद्ध श्रीलंकाको बदला

बिराटनगर (खेलदैनिक) । साफ महिला च्याम्पियनसिपतर्फ समूह बी को दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै भारतसँगै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिराटनगर स्थित शहिद रंगशालामा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले हरायो । श्रीलंकाको जितमा खेलको ४० र ५० औं मिनटमा चालिनी कुमारीले दुवै गोल गरीन् ।

यो जितसँगै श्रीलंकाले माल्दिभ्ससँग गत संस्करणमा बेहोरेको हारको बदला समेत लिएको छ । स्मरणीय छ, सन् २०१६ मा भएको गत संस्करणको साफमा एउटै समूहमा रहेको माल्दिभ्सले श्रीलंकामाथि ५–२ को जित निकालेको थियो ।

बिहीबारको खेलसँगै समूह बी बाट भारत र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् । अब आइतबार हुने भारत र श्रीलंकाबीचको खेलको नतिजाले समूह बी को विजेता र उपविजेताको टुँगो लाग्नेछ । लगातार दुई खेलमा पराजित माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तरगत शनिबार समूह ए तर्फको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले नै समूह ए को विजेता र उपविजेताको टुँगो लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...