महिला साफ : बंगलादेश र नेपाल सेमिफाइनलमा, भुटानको यात्रा समाप्त

बिराटनगर (खेलदैनिक) । बंगलादेश र आयोजक नेपाल जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको समूह ए तर्फको दोस्रो खेलमा बंगलादेशले भुटानलाई २–० ले हरायो ।

यो नतिजासँगै समूह ए तर्फ लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरियो भने नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्न सफल भए । भुटानले यसअघि आफ्नो पहिलो खेलमा नेपालसँग ३–० को हार बेहोरेको थियो ।

बिराटनगर स्थित शहिद रंगशालामा भएको खेलको शुरुवातमा भुटानले राम्रो प्रदर्शन गरे तापनि त्यसलाई निरन्तरता दिन सकेन । बंगलादेशका लागि दोस्रो हाफ शुरु भए लगतै ४७ औं मिनटमा मिशरत जहनले पहिलो गोल गरीन् । त्यस्तै ८५ औं मिनटमा सबिना खातुनले दोस्रो गोल गर्दै बंगलादेशको जित पक्का गरीन् ।

समूह चरणतर्फको अन्तिम खेलमा अब शनिबार नेपाल र बंगलादेश आमने सामने हुनेछन् । यी दुई टोलीबीचको नतिजाले नै समूह ए को विजेता र उपविजेताको निर्धारण गर्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल माल्दिभ्स र श्रीलंकाबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...