एएफसी कपमा मनाङले इण्डिन सुपर लिग च्याम्पियन विरुद्ध पनि खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपालको पल्सर शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले एएफसी कपको समूह चरणतर्फ भिड्ने सबै विपक्षी टोलीहरुको टुँगो लागेको छ ।

समूह ई मा रहेको मनाङले बंगलादेशी च्याम्पियन ढाका आवाहानी र भारतको आई लिग च्याम्पियन मिनर्वा पञ्जाबसँग खेल्ने यसअघि नै पक्का भईसकेको थियो । तर दक्षिण एसियाली प्ले अफबाट अर्को भारतीय क्लब मनाङको समूहमा समावेश भएको छ ।

गोलनेपालका अनुसार सन् २०१७–१८ को चर्चित इण्डिन सुपर लिग च्याम्पियन चेन्नईन एफसी पनि एएफसी कपतर्फ मनाङ कै समूहमा परेको छ । प्ले अफतर्फ चेन्नईनले कोलम्बो एफसीविरुद्ध समग्रमा १–० को अग्रता बनाउँदै एएफसी कपका लागि छनौट भएको हो ।

मनाङले आफ्नो पहिलो खेल अप्रिल ३ तारीखका दिन ढाकासँग खेल्नेछ भने १७ अप्रिलका दिन चेन्नईनसँग खेल्नेछ । त्यस्तै मई १ तारीखका दिन मिनर्वा पञ्जाबसँग अवे खेल खेल्नेछ भने १५ मईका दिन पञ्जाबलाई घरेलु मैदानमा आतिथ्यता गर्नेछ ।

त्यसैगरी १९ जुनका दिन ढाका अवाहानीसँग अवे खेल खेल्नेछ भने २६ जुनका दिन चेन्नईनसँग घरेलु मैदानमा खेल्नेछ । गोलनेपालका अनुसार मनाङले एन्फा कम्प्लेक्सलाई घरेलु मैदानका रुपमा प्रयोग गर्नेछ ।

नेपाली क्लबले एएफसी कपमा सोझै खेल्ने अवसर पाएको यो पहिलोपटक हो । यसअघि नेपाली क्लबहरुले एएफसी कपको छनौट खेल्नुपथ्र्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...