साफको व्यवस्थापनप्रति खुशी देखिए माल्दिभ्सका प्रशिक्षक अतिफ

बिराटनगर (खेलदैनिक) । माल्दिभ्स महिला फुटबल टोलीका प्रशिक्षक अतिफ मोहमदले आफूहरुलाई दिइएको सुविधा र व्यवस्थापनप्रति नेपाल, नेपाली समर्थक र स्थानीय आयोजकलाई धन्यवाद दिएका छन् ।

बिराटनगरमा जारी साफ महिला च्याम्पियनसिपतर्फ समूह बीको आफ्नो पहिलो खेलमा साविक विजेता भारतसँग ६–० ले पराजित हुन पुगेको माल्दिभ्सका प्रशिक्षक मोहमदले आफूहरुका लागि आयोजकले मिलाएको व्यवस्था र नेपालीहरुले दिएको समर्थनप्रति खुशी व्यक्त गरे ।

बुधबार खेलपश्चात पत्रकार सम्मेलनमा आयोजकको व्यवस्थापनबारे बोल्दै मोहमदले भने, “आयोजकले हामीहरुका लागि जे सक्छन, त्यो गरिरहेका छन् । त्यसका लागि हामी खुशी छौं ।”

त्यस्तै भारत विरुद्धको खेलबारे जिज्ञासा राख्दा उनले अगाडी भने, “म आफ्नो खेलाडीहरुको प्रदर्शनप्रति सन्तुष्ट छु । प्रतियोगिता शुरु हुनु अघि नै मैले भनेको थिएँ, हाम्रा तीन मुख्य डिफेन्डरहरु चोटिल छन् । हामीले रक्षात्मक खेल्ने जोखिम लियौं । आशा गरौं, हामी श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्नेछौं ।”

साथै उनले श्रीलंका विरुद्धको खेल ५०–५० को हुने समेत बताए । त्यसक्रममा उनले आफ्नो खेलाडीहरुले पहिलो हाफमा भन्दा दोस्रो हाफमा राम्रो गरेको प्रतिक्रिया समेत दिए ।

स्मरणीय छ, मंगलबारदेखि शुरु साफम हिला च्याम्पियनसिपतर्फ उद्घाटन खेलमा नेपालसँग ३–० ले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा भुटानका प्रशिक्षकले बिराटनगरमा स्थानीय आयोजकको फितलो व्यवस्थापनलाई लिएर असन्तुष्टी पोखेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...