माइ भ्याली गोल्डकप : थ्रीस्टारलाई हराउँदै शेर्पा सेमिफाइनलमा

इलाम (खेलदैनिक) । हिमालयन शेर्पा क्लब जारी पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार इलाम स्थित ठूलो टुँडिखेल मैदानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा शेर्पाले साविक विजेता थ्रीस्टार क्लबलाई ३–१ ले स्तब्ध पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

खेलको १४ औं मिनटमै अनिल गुरुङको गोलबाट शुरुवाती अग्रता बनाएको थ्रीस्टारले त्यसलाई धेरैबेर जोगाउन सकेन । उता खेलमा उत्कृष्ट पूनरागमन गरेको शेर्पाका लागि २० औं मिनटमा बिजय श्रेष्ठले बराबरी गोल फर्काए ।

त्यस्तै दोस्रो हाफतर्फ ६८ र ७४ औं मिनटमा त्रिदेव गुरुङ र सुनिल खड्काले दुई गोल गर्दै शेर्पाको उत्कृष्ट जित पक्का गरे । खेलको म्यान अफ द म्याच शेर्पाका अफ्रिकी खेलाडी रामसे घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार हात पारे ।

माइ भ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...