माइ भ्याली गोल्डकप : पुलिस सेमिफाइनलमा

इलाम (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी टुबोर्ग पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार इलाम स्थित ठूलो टुँडीखेल मैदानमा भएको क्वाटरफाइनल भिडन्तमा पुलिसले पाहुना टोली दार्जिलिङ युनाइटेड (भारत) लाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

पुलिसका लागि खेलको सातौं मिनटमै सौजन याक्खा राईले पहिलो गोल गरे । त्यस्तै खेलको ८१ औं मिनटमा भरत शाहले पुलिसको अग्रता दोब्बर पारेका थिए । यद्यपि त्यसलगतै ८५ औं मिनटमा दार्जिलिङका लागि करन राईले एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

खेलमा पुलिसका सौजन याक्खा राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत बुधबारको खेल साविक विजेता रुस्लान थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।

माइ भ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...