आयोजकको व्यवस्थापनप्रति खनिए भुटानका प्रशिक्षक

बिराटनगर (खेलदैनिक) । भुटानी राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक सुन जाई–ली ले साफ महिला च्याम्पियनसिपको तयारी र व्यवस्थापनमाथि असन्तुष्टी पोखेका छन् ।

मंगलबार भएको उद्घाटन खेलमा नेपालसँग ३–० ले पराजित हुन पुगेको भुटानका प्रशिक्षक ली ले स्थानीय आयोजकको फितलो व्यवस्थापनका कारण आफ्ना खेलाडीहरुले राम्रोसँग अभ्यास गर्न नपाएको बताए ।

खेलपश्चातको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक ली ले भने, “हामी बसेको होटल दयनीय अवस्थामा थियो । हामीलाई होटल सर्नुपर्यो । बिहान ९ बजेदेखि ५ बजेसम्म शहरमा अलपत्र यात्रा गर्नुुपर्यो । हामीलाई खान खानका लागि अर्को होटलमा जानुपर्यो । यो कस्तो किसिमको तयारी हो ?” उनले प्रश्न तेस्र्याए ।

उनले अगाडी भनेका छन्, “अन्तर्राष्ट्रिय प्रतियोगिता निकै महत्वपूर्ण हुने गर्छ । मलाई थाहा छ, मैले गुनासो गरिरहेको छ, तर मैले यस्तो कहिल्यै देखेको थिएन ।” साथै उनले यो कुरा अरुको लागि एउटा हारको बहाना पनि हुन सक्ने बताए ।

उनले आफ्नो प्रशिक्षण करियर मै पहिलोपटक यस्तो अनुभव गरेको बताए । साथै उनले आफ्नो खेलाडीहरुले प्रर्याप्त आरा मगर्न नपाएको समेत बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक लीले नेपाली टोलीको पनि प्रशंसा गरे । उनले भने, “नेपाल निकै राम्रो टोली हो । उनीहरुसँग राम्रो खेलाडीहरु पनि छन् ।”

त्यस्तै प्रशिक्षक लीले आफूहरु पाँच दिन अभ्यासका लागि काठमाडौंमा बस्दा यस्तो समस्या नभोगेको समेत बताए । स्मरणीय छ, नेपालले पहिलोपटक काठमाडौं बाहिर यो प्रतिष्ठित प्रतियोगिता आयोजना गरिरहेको छ । भुटानले आफ्नो अर्को खेल बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...