एन्फाद्वारा महिला फुटबल टोली जनही एक लाखका दरले सम्मानित

बिराटनगर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको पूर्व सन्ध्यामा महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई जनही १–१ लाखका दरले सम्मानित गरेको छ ।

स्मरणीय छ, हालै भारतमा सम्पन्न चारदेशीय हिरो गोल्डकप महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेपछि एन्फाले उपविजेता नेपाली टोलीको सबै सदस्यहरुलाई जनही नगद एक लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो ।

त्यस्तै सोमबार सोही कार्यक्रमका अवसरमा बिराटनगर महानगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका तीन फुटबलर कबिता लिम्बु, सरु लिम्बु र मनमाया लिम्बुलाई महानगरपालिकाको ब्राण्ड एम्स्याडोरमा नियुक्त गरेको छ । यी तीनै खेलाडी बिराटनगरका हुन् ।

सम्मान कार्यक्रममा उपस्थित एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली महिला टोलीले यसपटकको साफ महिला च्याम्पियनसिप जिते टोलीलाई सम्मान गर्न कुनै कसर बाँकी नराख्ने बताईसकेका छन् । नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

मंगलबारदेखि बिराटनगर स्थित शहिद रंगशालामा शुरु हुन गईरहेको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ । प्रतियोगिता नेपालका पूर्व प्रधानमन्त्री पुष्प कमल दहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...