आठ गोलको ‘थ्रीलर’मा फेरि चुक्यो झापा, आर्मीद्वारा उपाधि रक्षा

बिर्तामोड (खेलदैनिक) । साविक विजेता त्रिभुवन आर्मी क्लबले सोमबार सम्पन्न मगमग चौथो झापा गोल्डकपको फाइनलमा आयोजक झापा–११ लाई हराउँदै उपाधि रक्षा गरेको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको आठ गोलको थ्रीलर भिडन्तमा आर्मीले झापालाई ५–३ ले हरायो । खेलमा पटक–पटक फर्किने प्रयास गरे तापनि झापा सफल हुन सकेन ।

आर्मीका लागि खेलको २३ औं मिनटमा सन्तोष तामाङले पहिलो गोल गरे भने ३३ औं मिनटमा भरत खवासले त्यो अग्रता दोब्बर पारे । उता ४३ औं मिनटमा फ्रान्सिसले झापाका लागि पहिलो गोल गरे भने ५३ औं मिनटमा योगेश गुरुङले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यद्यपि खेलको ७५ र ८३ औं मिनटमा नवयुग श्रेष्ठले लगातार दुई गोल गर्दै आर्मीको गोलसंख्या चार पुराए । लगतै ९३ औं मिनटमा टेक बुढाथोकीले आर्मीका लागि पाँचौं गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उता ९५ औं मिनटमा झापाका लागि भिक्टरले तेस्रो गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

बिजेता बनेको आर्मीले उपाधिसहित १२ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता झापाले ६ लाख पाँच हजारमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...