
बिराटनगर (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले आफ्नो टोली साफ महिला च्याम्पियनसिपका लागि शारीरिक र मानसिक दुवै रुपमा तयार रहेको बताएका छन् ।
मंगलबारदेखि बिराटनगर स्थित शहिद मैदानमा शुरु हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक खड्काले भने, “हामी शारीरिक र मानसिक रुपमा तयार छौं । खेलाडीहरुमा आत्मविश्वास पनि उच्च छ । हाम्रो पहिलो प्राथिमकता समूह चरणतर्फ छ । त्यसपछि सोही अनुसार अगाडी बढ्ने छौं ।
हामीसँग उत्कृष्ट खेलाडीहरु पनि छन् तर हामी सबै प्रतिद्वन्द्वीहरुलाई सम्मान गर्छौं । हामीले कसैलाई पनि हलुका रुपमा लिएका छैनौं । तत्कालका लागि हामी समूह चरणमा ध्यान केन्द्रिन गर्नेछौं ।”
उता नेपाली महिला टोलीकी कप्तान निरु थापाले पनि आफूहरु साफका लागि तयार रहेको बताएकी छिन् । पत्रकार सम्मेलनमा बोल्दै कप्तान थापाले भनिन्, “हामी घरेलु मैदानमा खेलिरहेका छौं । घरेलु समर्थकहरुका माझ खेल्न पाउँदा हामी खुशी पनि छौं । हामीलाई सबैको समर्थन पनि छ । हामी यो उपाधि जित्न चाहन्छौं ।”