संकटाको शानदार जितमा अभिषेकको दुई गोल

काठमाडौं (खेलदैनिक) । भारतको आसाममा जारी चौथो सिइएम गोल्डकप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन लिगको उपविजेता सिएमजी संकटाले शानदार जित हात पारेको छ ।

बिहीबार भएको आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा संकटाले श्रीलंकन क्लब जाभा लेन स्र्पोटिङ क्लबलाई ४–० ले हरायो । एकतर्फी जित हात पारेको संकटा लागि आवोनाले २४ औं मिनटमा पहिलो गोल गरे भने ३६ औं मिनटमा अभिषेक रिजालले दोस्रो गोल गरे ।

त्यस्तै ७६ औं मिनटमा म्याक्सवेलले तेस्रो गोल गर्दा ८५ औं मिनटमा अभिषेक रिजालले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै संकटाको शानदार जित पक्का गरे । खेलमा संकटाका लागि दुई गोल गरेका अभिषेक रिजाल म्यान अफ द म्याच समेत घोषित भए ।

यो जितसँगै संकटाले प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावनालाई कायम राखेको छ । संकटाले अब सालगाओकर र जाभा लेनबीचको खेलको नतिजा पर्खनु पर्नेछ । यदि सालगाओकरले जित वा बराबरी निकाले संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

स्मरणीय छ, संकटाले प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा सालगाओकरसँग ३–० को हार स्तब्धपूर्ण हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...