लुम्बिनी खुकुरी क्लबलाई माछापुच्छ्रे कपको उपाधि

भैरहवा (खेलदैनिक) । २७ औं माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लब, बेलहियाले जित्न सफल भएको छ । मंगलबार भैरहवा पक्लिहवा स्थित कृषी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनल खेलमा भैरब स्पोर्टस् क्लब, नवलपरासीलाई ३–२ गोल अन्तरले हराउदै लुम्बिनी खुकुरीले उपाधि जितेको हो ।

खेलमा लुम्बिनी खुकुरीका लागी आशिष गुरुङले खेल सुरु भएको ३७ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि ४० औं मिनेटमा भैरबका लागी धनिराम चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यस्तै दोस्रो हाफतर्फ ६५ मिनेटमा लुम्बिनी खुकुरीका अजित गुरुङले दोस्रो गोल गरे भने ७९ औं मिनटमा अमर पुनले तेस्रो गोल गरे । उता ८२ औं मिनटमा भैरबका पम बहादुर पाईजाले दोस्रो गोल गरे तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

विजेता बनेको लुम्बिनी खुकुरीले उपाधिसहित नगद १ लाख हात पार्यो भने भैरवले ५० हजारमा चित्त बुझायो । त्यसैगरी व्यक्तिगत विधातर्फ उदयीमान खेलाडी भैरवका पोम बहादुर पाईजा घोषित हुदै नगद ४ हजार रुपैया प्राप्त गरे । त्यस्तै सर्बोत्कृष्ट खेलाडीको पुरस्कार लुम्बिनी खुकुरी क्लबका आशिष गुरुङले प्राप्त गरे । उनले नगद ५ हजार रुपैया प्राप्त गरे ।

यहि फागुन ७ गतेबाट माछापुच्छ्रे क्लब, भैरहवाको आयोजनामा सुरु भएको प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी १५ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...