आरसिटी बी डिभिजन लिग च्याम्पियन

काठमाडौं (खेलदैनिक) । रानीपोखरी कर्नर टिम (आरसिटी) ले यस बर्षको शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल चरणको अन्तिम खेलमा आरसिटीले श्री भगवती क्लबलाई १–० ले हराउँदै लिग च्याम्पियन बन्न सफल भएको हो ।

यसअघि लिग चरणतर्फ समूह ए बाट सातदोबाटो युथ क्लब र आरसिटी तथा समूह बी बाट टुसाल युथ क्लब र श्री भगवती क्लब फाइनल चरणमा प्रवेश गरेका थिए । फाइनल चरणमा यी चार टोली एक आपसमा भिडेपछि सर्वाधिक अंक बटुल्दै आरसिटी लिग च्याम्पियन बन्न सफल भएको हो ।

लिग च्याम्पियन बने तापनि यस बर्ष टोलीहरुको बुढुवा र घटुवा नहुने भएको छ । गोलनेपालका अनुसार लिगमा आगामी बर्षदेखि बढुवा र घटुवा हुने बताइएको छ ।

बिजेता बनेको आरसिटीले उपाधिसहित नगद ८ लाख हात पारेको छ भने उपविजेता श्री भगवतीले पाँच लाख प्राप्त गरेको छ । त्यस्तै फेयर प्ले टिम बनेको श्री कुमारी क्लबले २५ हजार नगद हात पार्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको लिगमा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...