झापा गोल्डकप : दावेदार आर्मी सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । दावेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा स्थान बनाउने क्रममा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले हरायो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको अन्त्यतिर आर्मीले थप दुई गोल गर्न सफल भयो । खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसैगरी नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको शानदार जित सुनिश्चित गरे ।

खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत बुधबारको तेस्रो क्वाटरफाइनल खेल विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...