अब अन्तर्राष्ट्रिय फुटबलमा नयाँ जर्सी र लोगोमा उत्रिनेछ नेपाल

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले अब अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देशको प्रतिनिधित्व गर्दा नयाँ जर्सी प्रयोग गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार होटल हिमालयनमा एक कार्यक्रमका बीच राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक गरेको हो ।

रातो र निलो गरी दुई थरी रंगमा भएको नयाँ जर्सीको तलपट्टी सतहदेखि माथि सर्वोच्च शिखर सगरमाथाको जस्तो आकृति दश्र्याइएको छ । जर्सीको बाँयातर्फ एन्फाको नयाँ लोगो अंकित छ भने दाँयातर्फ केल्मी ब्राण्डको लोगो रहेको छ ।

नयाँ जर्सीलाई संयुक्त रुपमा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाल प्रहरीका एआईजी धिरु बस्नेत, केल्मी ट्रेडिङका निर्देशक प्रदिप न्यौपाने, एन्फाका उपाध्यक्षद्वय उपेन्द्र मान सिंह, पंकज नेम्बाङ लगायत अन्य पूर्व राष्ट्रिय फुटबलरहरुको उपस्थिति रहेको थियो ।

एन्फाले सोही कार्यक्रमका अवसरमा फुटबल गीत पनि सार्वजनिक गरेको थियो भने ६५ बर्ष उमेर पुगेका पूव राष्ट्रिय फुटबलरहरुलाई सम्मानित समेत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस

Loading...