झापा गोल्डकप : हङकङलाई हराउँदै झापा सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । आयोजक झापा–११ जारी मगमग चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनलमा झापाले पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई शूनयका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । झापाको जितमा खेलको ४१ औं मिनटमा कर्ण लिम्बुले एक मात्र निर्णायक गोल गरे । कर्णले निशान्त खड्काको क्रस पासलाई सदुपयोग गर्दै हेडमार्फत निर्णायक गोल गरेका थिए ।

प्रतियोगिता अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेलको ८औं मिनेटमा सञ्जोग राईको क्रस पासमा कर्ण लिम्बूले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरिन पुग्दा झापाली समर्थकहरु चुकचुकाएका थिए । लगतै झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओनियमाको पासमा लिम्बूले गोल गर्न सकेनन् । उनको प्रहार बार नजिकैबाट बाहिरिँदा अग्रता लिने अवसर गुमेको थियो ।

११ औं मिनेटमा योगेश गुरुङले खाली पोष्टमा गोल गर्न सकेनन् । २५औं मिनेटमा फेरि कर्ण लिम्बूले हङकङका गोलरक्षक अभिजित रोयसँग वान भर्सेस वानमा पनि गोल गर्न सकेनन् । उनको कडा प्रहार गोलरक्षक रोयले फर्काउँदा झापाली समर्थक निरास हुनुपरेको थियो ।

हङकङले पहिलो हाफअघि झापाविरुद्ध खासै दबाब बनाउन सकेको थिएन । विपक्षी पोष्टमा कुनै खतरा रणनीति बुन्न नसकेको हङकङले दोस्रो हाफमा दबाब बनाउन थालेको थियो । ५४आंै मिनेटमा हङकङका सानोजेको प्रहार पोष्टभन्दा केही माथिबाट बाहिरियो । ६४औं मिनेटमा मोहम्मद दुम्बियाले खाली पोष्टमा गोल गर्न सकेनन् । गोलकिपर दिनेश थापामगर बिट भइसकेको अवस्थामा उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा हङकङ निरास हुनुपरेको थियो ।

खेलको इन्जुुरी समयमा हङकङका दिपेश मोक्तानले गोलकिपर थापामगरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार झापाका गोलकिपर थापामगरले समाएपछि बराबरी गर्ने अवसर हङकङले गुमाएको थियो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम झापा ११ का निशान्त खड्का घोषित भए । उनले १५ हजार रुपैंयाँ पुरस्कार पाए । मंगलबारको दोस्रो क्वाटरफाइनल सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए ।

जीतपछि पत्रकार सम्मेलनमा बोल्दै झापाका प्रशिक्षक प्रवेश कटवालले ६ जना अफ्रिकन खेलाडी सहभागी टिमसँग खेल्नु पर्दा झापाका खेलाडीले दबाब महसुस गरेको बताए । उनले आगामी खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने दाबी गरे ।

हङकङका म्यानेजर नविन राईले तालमेलको अभावमा स्कोर हुन नसकेको बताए । उनले फरक फरक स्थानबाट बोलाइएका खेलाडी भएका कारण खेलमा तालमेल हुन नसकेकोले गोल गर्ने अवसर सिर्जना हुन नसकेको सुनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...