झापा गोल्डकप : पहिलो क्वाटरफाइनलमा आज आयोजक झापालाई हङकङको चुनौति

झापा (खेलदैनिक) । मगमग चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा आज आयोजक झापा–११ ले हङकङ नेप्लिज एकेडेमीको सामना गर्दैछ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा दिनको ३:३० बजे शुरु हुने आजको खेल घरेलु टोली झापाका लागि उत्तिकै महत्वपूर्ण हुनेछ । आफ्नो पहिलो खेलमा सहारा क्लब, पोखरालाई हराएको झापा घरेलु मैदान र समर्थकका बीच आत्मविश्वासी पनि छ ।

उता प्रतियोगितामा बाई पाएर सोझै क्वाटरफाइनलमा भिड्न लागेको पाहुना टोली हङकङ भने झापाका लागि नौलो प्रतिद्वन्द्वी हुनुका साथै नयाँ चुनौति भईदिन सक्छ । यद्यपि मोफसलको प्रतियोगिताहरुमा लोकप्रिय पहिचान बनाएको झापालाई नै आजको जितको बलियो प्रत्याशी मानिएको छ ।

झापा गोल्डकप आयोजक समितिको आयोजनामा शनिबारदेखि शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि फागुन २७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...