झापा गोल्डकप : साँघुरो जितका साथ एपिएफ क्वाटरफाइनलमा

झापा (खेलदैनिक) । साँघुरो जितका साथ विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब जारी मगमग चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ एपिएफले मोरङ–११ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । एपिएफको जितमा पहिलो हाफको इन्जुरी समयमा हरि कार्कीले एक मात्र निर्णायक गोल गरे ।

एपिएफका निर्णायक गोलकर्ता हरि कार्की खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार स्वरुप नगद १५ हजार हात पारे । एपिएफले अब क्वाटरफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

यसअघि खेल सुरु भएको ९ मिनेटपछि खेलाडीको रिलिज पेपरको विषयमा खेलमा तनाव सिर्जना भयो । मोरङका तीन जना खेलाडी काठमाडौँको विभिन्न क्लबमा अनुबन्धित भएको तर रिलिज पेपर नभएको भन्दै एपीएफको अफिसियलले खेल रोक्न अपिल गरेका थिए । खेल २३ मिनेट रोकियो ।

मोरङले रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।

खेलपछि पोष्ट म्यच कन्फ्रेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए । उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए ।

पराजित टीमका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दबाब दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए । उनले मोरङको टीम कलेक्सन भएकाले पनि तालमेल नमिलेर हार ब्यहोर्नु परेको स्वीकार गरेका छन् । 

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो क्वाटरफाइनल खेल झापा–११ र हङकङ नेप्लिज एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...