आहा रारा गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार च्याम्पियन

पोखरा (खेलदैनिक) । दुईपटक पछि परेको अवस्था उल्टाउँदै दश खेलाडीमा सिमित रुस्लान थ्रीस्टार क्लबले शनिबार सम्पन्न १७ औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा थ्रीस्टारले अर्को बलियो टोली त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलको पाँचौं मिनटमै गोलको अग्रता बनाएको आर्मीले त्यसलाई पहिलो हाफसम्म पनि जोगाउन सकेन । दिपक गुरुङको क्रस पासमा टेक बुढाथोकीले आर्मीका लागि खेलको शुरुवात मै पहिलो गोल गरे । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा आर्मीका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई रन्जित धिमालले कुनै गल्ती नगरी गोलको जाली चुमाउन सफल भएका थिए । नियमित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । यद्यपि अतिरिक्त समयको ९८ औं मिनटमा सुनिल बलले रातो कार्ड खाँदै मैदान छाडेपछि थ्रीस्टार दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको फाईदा उठाउँदै १०५ औं मिनटमा आर्मीका लागि बिमल पाण्डेले दोस्रो गोल गरे । तर त्यो अग्रता पनि आर्मीले जोगाउन सकेन । उता ११२ औं मिनटमा पिटर सेगुनले थ्रीस्टारका लागि दोस्रो बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछिको सडेन डेथमा भने थ्रीस्टारले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । बिजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ८ लाख १ हजार हात पारेको छ । त्यस्तै उपविजेता आर्मीले भने ४ लाख १ हजारमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...