झापा र सहारा बीचको दोस्रो भेटमा कसले मार्ला बाजी ?

बिर्तामोड (खेलदैनिक) । मग मग चौथो झापा गोल्डकपको उद्घाटन खेलमा शनिबार झापा ११ एफसी र पोखराको सहारा क्लबले जीत दर्ता गर्ने बिश्वासका साथ मैदान प्रवेश गर्ने बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टिम क्याप्टेन र कोचले सो दावी गरेका हुन् । घरेलु टोली झापा ११ का कोच प्रवेश कटुवालले पूर्ण अपेक्षाका साथ तयारी गरेको बताए ।

झापाले यस सिजन फिदिम गोल्डकपमा जीत दर्ता गरेको छ भने अन्य दुई प्रतियोगितामा हार व्यहोरेको छ । कर्ण लिम्बूको कप्तानीमा मैदानमा उत्रिने झापाली टिममा विशाल राई ए र दिलेन लोक्तामलगायत पुराना खेलाडी छन् भने अन्य नयाँ खेलाडी रहेको कोच कटुवालले बताए ।

उता सहाराका कप्तान मानबहादुर तामाङले झापासँगको भिडन्तलाई सहज रुपमा नलिएको बताएका छन् । कप्तान तामाङले भने ‘मोफसलको उत्कृष्ट टिम झापाप्रति मेरो विशेष सम्मान छ । बुढासुब्बा गोल्डकप र पोखरामा आयोजित आहारारा गोल्डकपमा हार व्यहोरेर झापा खेल्न आएको सहारामा फ्रेस खेलाडी भएकाले जीत निकाल्ने उनको दाबी छ ।

यसअघि एकपटक भेट भएको यी दुई टोलीबीच यो दोस्रो भेट हो । कटारी गोल्डकपमा पहिलोपटक आमने सामने हुँदा झापाले त्यो खेल १–० को आफ्नो पक्षमा पारेको थियो ।

पोखरेली कोच प्रल्हाद हिराचनले झापालीसँगको भिडन्त विशेष महत्वका साथ हेरिएको बताए । ‘उसैको घरेलु मैदानमा उसैसँग भिड्न पाउँदा खुसी पनि लागेको छ’, उनले भने ।

‘ओपनिङमात्र होइन, टुर्नामेन्ट नै हाम्रो लागि महत्वपूर्ण छ’, झापाली कप्तान कर्ण लिम्बूले भने । ९० मिनेटभित्रै जित्ने दाबी गरेका उनले झापाको ‘सेट टिम’ पहिलो हतियार भएको दाबी गरे । भर्खरै लिग खेलेका खेलाडीहरु भएकाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने उनको भनाइ थियो ।

झापा गोल्डकपको चौथो संस्करणमा हङकङसहित १० टिम सहभागी छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...