थ्रीस्टारका प्रशिक्षक केसी भन्छन्, “दाफिन्स फुटबल टिम होईन”

पोखरा (खेलदैनिक) । घरेलु फुटबलमा लोकप्रिय बनेको रुस्लान थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले मोफसलका प्रतियोगितामा सनसनी मच्याईरहेको दाफिन्स क्लब, क्यामरुनलाई फुटबल क्लब नभएको बताएका छन् ।

पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले दाफिन्स क्लब केवल मैदानमा लडाई गर्ने र आक्रमक हुने गरेको बताएका छन् ।

केसी भन्छन्, “दाफिन्सले फुटबल होईन, लडाई गर्ने मात्र काम गर्छ । नेपाली टिम र खेलाडीहरु उनीविरुद्ध डराउने भएकै कारण उनीहरुले एकपछि अर्को सफलता हात पारिरहेका छन् ।”

एएफसी ए लाईसेन्स कोच समेत रहेका केसीले अगाडी भनेका छन्, “हामीले राम्रो टिमहरुलाई आमन्त्रण गर्नुपर्छ । मैले उनीहरुको यसअघिको खेलहरु हेरेको थिएन । नेपाल आर्मी विरुद्ध बिहीबार मात्र उनीहरुको खेल हेरें । उनीहरु फुटबल खेलिरहेका थिएनन् । उनीहरु लडाई गर्न चाहिरहेका थिए । उनीहरु फुटबल टिमका रुपमा थिएनन् ।”

गोलनेपालका अनुसार दाफिन्स टिमलाई नेपाली एजेन्टले ल्याएका हुन् । केही खेलाडीहरु भने भारतबाट आवद्ध भएका छन् । स्रोतका अनुसार क्यामरुन एफएले एन्फालाई एउटा पत्र लेख्दै दाफिन्स क्यामरुनमा दर्ता भएको क्लब बताइएको छ । यद्यपि दाफिन्सले क्यामरुनमा कुन डिभिजनको लिग खेलिरहेको छ, त्यो भने खुलाइएको छैन ।

स्मरणीय छ, आहा रारा गोल्डकपतर्फ बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले दाफिन्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । आर्मीले शनिबार मात्र प्रतियोगितामा उपाधिका लागि रुस्लान थ्रीस्टार क्लबको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...