दाफिन्ससँग पुलिस दुई दिनमा दोस्रोपटक पराजित

पोखरा (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लबले दाफिन्स एफसी, क्यामरुनसँग दुई दिनको अन्तरालमा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार मात्र २१ औं तिलोत्तमा गोल्डकपको फाइनलमा हार बेहोरेको पुलिसले मंगलबार पोखरामा जारी आहा रारा गोल्डकपमा दाफिन्ससँगै पराजित हुन पुग्यो ।

पोखरा रंगशालामा भएको खेलमा दाफिन्सले पुलिसमाथि २–१ को जित हात पार्यो । खेलको ३७ औं मिनटमा बियीक बियीकको गोलबाट शुरुवाती अग्रता बनाएको दाफिन्सले त्यो अग्रतालाई अन्तिम तिर गुमाउन पुग्यो । खेलको इन्जुरी समयमा सुमन सुबेदीले पुलिसका लागि बराबरी गोल फर्काए ।

तर त्यो बराबरी गोलको खुशी पुलिसले केही मिनट पनि मनाउन सकेन । उता लगतै यानिकले दाफिन्सका नाटकीय रुपमा लागि दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै सेमिफाइनल यात्रा पक्का गरेको दाफिन्सले अन्तिम चारमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

मंगलबारको खेलमा दाफिन्सका बियीक बियीक म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल नेपाल एपिएफ क्लब र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...