आहा रारा गोल्डकप : थ्रीस्टारको जितमा अनिलको ह्याट्रिक

पोखरा (खेलदैनिक) । पोखरेली फरवार्ड अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्रीस्टार क्लब जारी आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारले युनाइटेड सिक्किमलाई ५–२ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो । थ्रीस्टारको जितमा खेलको २६ औं मिनटमा अनिल गुरुङले पेनाल्टीबाट पहिलो गोल गरे ।

त्यस्तै खेलको ५० औं मिनटमा जिग्मे दोर्जी भुटियाले आत्मघाती गोल गरेपछि थ्रीस्टारले आफ्नो अग्रता दोब्बर पार्न सफल भएको थियो । खेलको ७० औं मिनटमा अजायी मार्टिन्सले थ्रीस्टारको त्यो अग्रता तेब्बर पारे भने ८१ र ८५ औं मिनटमा अनिलले थप दुई गोल गर्दै ह्याट्रिक समेत पूरा गरे ।

उता पराजित सिक्किमका लागि ८९ औं मिनटमा सोनाम छिरिङ भुटियाले पहिलो गोल फर्काए भने अन्तिमतिर इन्जुरी समयमा आङ छिरिङ शेर्पाले सिक्किमका लागि दोस्रो सान्त्वना गोल फर्काए । खेलमा ह्याट्रिक गरेका थ्रीस्टारका अनिल गुरुङ खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनलमा दाफिन्स एफसी, क्यामरुन र नेपाल पुलिस क्लब, काठमाडौं भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...