मोफसलको प्रतियोगितामा दाफिन्सको ह्याट्रिक

बुटवल (खेलदैनिक) । प्रतिष्ठित २१ औं तिलोत्तमा गोल्डकपको उपाधि अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुनले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा दाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई सडेन डेथमा ६–५ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टोली निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए । खेलको अन्तिमतिर पुलिसका तिर्थ राना मगरले बललाई जाली चुमाए तापनि लाइन्सम्यानले त्यो गोललाई अफसाईड देखाईदिएपछि विभागीय टिम चुकचुकाउन पुगेको थियो ।

पेनाल्टी शुटआउटमा पुलिसका तेज तामाङको प्रहार दाफिन्सका गोलरक्षक प्रिसोले जोगाउँदै टोलीलाई उपाधि दिलाउन निर्णायक भूमिका पनि खेले । सोमबारको जितसँगै मोफसलको प्रतियोगितामा दाफिन्सले ह्याट्रिक समेत गरेको छ । यसअघि अफ्रिकी टोलीले पोखरामा सम्पन्न मनकामना केबलकार कप र धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।

बिजेता बनेको दाफिन्सले उपाधिसहित नगद ८ लाख ८० हजार हात पारेको छ । उपविजेता बनेको पुलिसले भने ५ लाख ५० हजारमा चित्त बुझाएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा यहि फागुन ४ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...