रुपन्देहीमा एन्फा रेफ्री कोर्ष सम्पन्न

बुटवल (खेलदैनिक) । रुपन्देही जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोगमा एक साता एन्फा रेफ्री कोर्ष सम्पन्न भएको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको समापन कार्यक्रममा सहभागी कुल २२ मध्ये १३ प्रशिक्षार्थीहरुले एन्फा रेफ्री कोर्ष उत्तिर्ण गर्न सफल भएका थिए ।

यहि फागुन ६ गतेदेखि शुरु भएको कोर्षमा रुपन्देही र आसपासका जिल्लाका प्रशिक्षार्थीहरुले फिटनेस, प्राविधिक लगायतका बिषयहरुमा प्रशिक्षण लिई रेफ्री कोर्षमा सहभागी भएका थिए ।

पूर्व वरिष्ठ फिफा रेफ्री श्रीराम रन्जितकार तथा फिफा रेफ्रीद्वय लव खत्री र रोजेन श्रेष्ठले कोर्षमा सहभागीहरुलाई प्रशिक्षण तथा फिफा, फुटबलको आधारभुत र प्राविधिक ज्ञानहरुबारे जानकारी गराएका थिए ।

एन्फा टेक्निकल सेन्टरको सभाहलमा भएको समापन कार्यक्रममा उत्तिर्ण रेफ्रीहरुलाई रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर, कोषाध्यक्ष गोपीराम पुन लगायतले बेज र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघकै महासचिव लोक पुन, सचिव शंकर मल्लाह लगायतका अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...