नेपाली फुटबलको स्तरोन्नती गर्ने कालिनको लक्ष्य

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका नयाँ प्रशिक्षक योहान कालिनलाई आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

यसअघि केही बर्ष अघि सम्पन्न रेडबुल ए डिभिजन लिगतर्फ मच्छिन्द्र एफसीलाई दोस्रो स्थानमा पुराएर चौतर्फी प्रशंसा बटुलेका स्वीडीस प्रशिक्षक कालिनले नेपाली फुटबलको स्तर उकास्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कालिनले भने, “फेरि नेपाल फर्किन पाउँदा निकुै खुशी लागेको छ । मच्छिन्द्रको जिम्मेवारी सम्हालेपछि म पूनः स्वीडेन फर्किएर त्यहाँका प्रशिक्षकहरुसँगै काम गरेको थिए ।

मैले दुई बर्षका लागि सम्झौता गरेको छु । नेपाली फुटबलमा अहिले धेरै उतार चढाव भईरहेका छन् । तपाईंलाई थाहा नै छ, विकास छोटो समयमै सम्भव छैन । हामीलाई ग्रासरुट फुटबलमा विकास गर्नुपर्छ । प्रशिक्षकहरुको स्तरोन्नति गर्नुपर्छ । म नेपाली फुटबलको स्तर उन्नतीका लागि सक्दो प्रयास गर्नेछु ।”

साथै कालिनले साफ च्याम्पियनसिप पनि महत्वपूर्ण रहेको जिकीर गर्दै त्यसका लागि पनि आफूहरुले राम्रो तयारी गर्ने बताए ।

उता एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कालिनको वर्क परमिटको काम बन्ने केही समय लाग्ने बताउँदै त्यो काम बने लगतै उनी एक साताका लागि स्वीडेन फर्किने र त्यसपछि नेपालमा आएर आफ्नो जिम्मेवारी सम्हाल्ने बताए ।

गोलनेपालका अनुसार नेपालले अर्को महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ, जुन कालिनको राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा पहिलो जिम्मेवारी हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...