तिलोत्तमा गोल्डकप : दाफिन्सलाई रोक्ने पुलिसको योजना

बुटवल । यो सिजनका पाँच नकआउट प्रतियोगितामध्ये ३ वटा उपाधि हात पारिसकेको विदेशी टोली दाफिन्स फुटबल क्लब क्यामरुन र विभागीय टीम नेपाल पुलिस क्लबबीच २१ औं तिलोत्तमा गोल्डकपको उपाधि भिडन्त सोमबार हुँदैछ ।

भर्खरै सम्पन्न मनकामना केबलकार पोखरा कप र बुढासुब्बा गोल्डकप धरानको उपाधि उचालेको दाफिन्स यसपटक तिलोत्तमा गोल्डकपको उपाधि उचाल्ने दाउमा छ ।

तिलोत्तमा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको दाफिन्स र यसअघि ४ पटक तिलोत्तमा गोल्डकपको उपाधि उचालेको पुलिसबीचको प्रतिष्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । पुलिस गत संस्करणको उपविजेता टोली समेत हो ।

तिलोत्तमा गोल्डकपमा यसपटक दाफिन्सलाई नै उपाधिको दावेदार मानिएको छ । यस प्रतियोगितामा दाफिन्सले खेलेको पछिल्लो दुई खेलमा कुनै गोल नखाई विपक्षी विरुद्ध ७ गोल गरेको छ । आफ्नो पहिलो खेलमा झापालाई ५–० ले हराएको दाफिन्सले सेमिफाइनलमा आयोजक लाली रुपन्देहीलाई २–० ले पन्छाएको थियो ।

आइतबार फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाफिन्सका प्रशिक्षक सिलो मार्टिन्सले पुलिससँगको भिडन्तलाई सहज रुपमा लिएको बताउँछन् । ‘हामी सहज रुपमै मैदान उत्रिनेछौं, उनले भने– पुलिसको टीम राम्रो छ, तरपनि हामी उसका कमजोरीहरु पत्ता लगाएर जित हाम्रो पक्षमा पार्नेछौं ।’

बुढासुब्बा गोल्डकपमा दाफिन्ससँग भिडेको पुलिस सेमीफाईनलमा पराजित भएको थियो । गोलरहित बराबरी भएपछि सडन डेथमा पुलिस पराजित हुन पुगेको थियो । त्यो हारको बदला लिने दाउमा समेत पुलिस क्लब रहेको छ ।

पुलिस क्लबका कप्तान भरत शाह भन्छन्–‘हाम्रा आक्रामक खेल खेल्नेछौं र सक्दो छिटो नतिजा निकाल्नका लागि प्रयत्न गर्नेछौं ।’ त्यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले पनि दाफिन्सका खेलाडीहरु शारीरिक रुपमा बलियो भए तापनि आफूहरु डटेर खेल्ने र उपाधि माथि कब्जा जमाउन प्रयास गर्ने बताए ।

सोमबार दिउसो ३ बजेपछि बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु हुने प्रतियोगिताको फाईनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान समेत गरिएको छ ।

प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ८ लाख ८० हजार हात पार्नेछ भने उपबिजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछ भने विभिन्न ५ विधागत पुरस्कार विजेताहरुले जनही २५–२५ हजार प्राप्त गर्ने रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी । वि.सं. २०३३ सालदेखि शुरु भएको तिलोत्तमा गोल्डकपको गत वर्षको उपाधि थ्रीस्टार क्लबले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...