तिलोत्तमा गोल्डकप : दश खेलाडीमा सिमित दाफिन्स फाइनलमा

बुटवल (खेलदैनिक) । दश खेलाडीमा सिमित हुनुका बावजुद दाफिन्स एफसी, क्यामरुन जारी २१ औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार एन्फा टेक्निकल सेन्टर, बुटवलको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा दाफिन्सले आयोजक लाली रुपन्देही–११ लाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दाफिन्सका लागि दुवै गोल डिडेर टिनाले गरे । उनले खेल शुरु भएको दोस्रो मिनटमै पेनाल्टीबाट पहिलो गोल गरे भने दोस्रो हाफको अन्तिमतिर ८४ औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीलाई निराश तुल्याए ।

उता खेलको ६८ औं मिनटमा घरेलु टोलीका खेलाडीलाई फाल गरेपछि दाफिन्सका यानिकले सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । यद्यपि दश खेलाडीका सिमित हुनुका बावजुत अफ्रिकी टोलीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा रुपन्देहीले पनि केही राम्रो गोलको अवसरलाई सदुपयोग गर्न सकेन । शारीरिक रुपमा अग्ला र बलिया क्यामरुनी टोली विरुद्ध डटेर खेलेको रुपन्देहीका खेलाडीहरुले अन्तिम समयसम्म नतिजालाई सकरात्मक रुप दिन भने सकेनन् ।

बिहीबारको खेलमा म्यान अफ द म्याच रुपन्देहीका मनोज श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...